Friday, December 17

पढ्दा अन्तै डुल्ने मन

विद्यार्थीहरू सधैँ  परीक्षामा हुन्छन् । विद्यार्थीलाई के लाग्छ भने यो परीक्षा भन्ने कुरा पनि सधैँ आइरहन्छ, कहिल्यै सकिने होइन । विद्यार्थीहरू जति-जति परीक्षा सकिँदै गएको अनुभूति गर्छन्,

त्यति नै परीक्षाले उनीहरूलाई पछ्याइरहेको हुन्छ । विद्यार्थीहरू एकातिर परीक्षासँग डराइरहेका हुन्छन् भने अर्कातिर परीक्षा आइसक्यो भनेर पढ्न त बस्छन् तर मन अन्तै पुग्छ । विद्यार्थीहरू पढ्न बसेको  समयमा आफ्नो मनलाई भने 'कोर्स' सँग असम्बन्धित क्षेत्रमा डुलाइरहेका हुन्छन् । उनीहरू आफ्नो मनलाई पढाइमा केन्दि्रत गर्ने प्रयास त गर्छन् तर थाहा नपाइ आफ्नो 'चुलबुले' मनलाई नियन्त्रण गर्न  भने सकिरहेका हुँदैनन् ।

अध्ययनका बेला मनलाई डुलाउने पक्ष धेरै हुन्छन् । यसमा अहिलेको प्रविधिको पनि ठूलै हात छ । पढिरहेको समयमा आफ्नो सेल फोनमा कुनै साथीको फोन आयो अनि काटियो -मिस कल आयो) अनि त्यही  कल फर्काउने ध्याउन्नमा केही समय पढाइबाट ध्यान बाहिर जान्छ । साथी वा अरू कसैले 'एसएमएस' गर्‍यो भने त्यही म्यासेजमा एकछिन भुल्यो अनि त्यसको 'रिप्लाइ' आफ्नो सेल फोनमा भए नभएको ' चेक' गर्‍यो, नभए आँफैँले कुनै उपयुक्त म्यासेज सिर्जना गर्‍यो अनि पठायो । यो प्रक्रिया एकै पटकमा सकिन सक्छ वा तीन/चार पटक पनि चल्न सक्छ । अन्तमा आफ्नो पढाइ 'डावाँडोल' भएको अनुभव  गरेर उनीहरू फेरि पढ्न बस्छन्, तर एकैछिनमा फेरि अरू कसैको म्यासेज आइसकेको हुन्छ वा मिसकल


विद्यार्थीहरूको मन डुलाउने अर्को पक्ष 'सिग्नेचर' पनि हो । जब-जब विद्यार्थीहरू पढ्ने क्रममा लेखेर 'प्राक्टिस' गर्न थाल्छन्, केही बेरमै आफ्नो 'सिग्नेचर' गर्न थाल्छन् । पढाइको एउटा कुरा लेखेर सकिन  नपाउँदै विद्यार्थीहरूले 'सिग्नेचर' गरेर आफ्नो कापी भरेको प्रशस्तै पाइन्छ । 'लोड' परिरहेको समयमा यस्तो कार्यले आनन्द पनि प्रदान गर्छ । जब उनीहरू 'सिग्नेचर' ले आफ्नो कापी भर्छन्, तब आफ्नो ' सिग्नेचर' को मोडलबाट असन्तुष्ट हुँदै आफूलाई फिट हुने कुनै नयाँ 'सिग्नेचर' को डिजाइनतर्फ लाग्छन् । यद्यपि यो प्रक्रिया धेरै समय चल्दैन, विद्यार्थीहरू सतर्क भैहाल्छन् र अनावश्यक कार्य नगरी पढ्नुपर्ने  कुरालाई आत्मसात गर्न खोज्छन् तर यो कुरालाई आत्मसात गर्नुअघि नै मन पढाइबाट अन्तै बहकिइसकेको हुन्छ ।

त्यस्तै विद्यार्थीहरू परीक्षा मुखमा आएको समयमा चित्रहरू पनि सिर्जना गर्छन् । पढिरहेको समयमा कलम समायो अनि नानाथरीका चित्र बनायो अनि त्यसैमा हाँगा-बिँगा थप्यो । यस्ता चित्र पढाइसँग कमै  सम्बन्धित हुन्छन् । विद्यार्थीहरूले आफैँलाई वा आफूलाई मन पर्ने कसैलाई कल्पना गरी त्यसलाई चित्रमा उतार्ने प्रयास गर्छन् अनि आफूलाई कोही मन पर्दैन भने त्यो व्यक्तिलाई नराम्रो देखाउने खालका चित्र  कोर्न पनि उनीहरू तल्लीन हुन्छन् । जे होस्, विद्यार्थीले पढाइको समयमा पुस्तकबाट केही समय टाढा रहेर सन्तुष्टि प्राप्त गर्ने वा असन्तुष्टि पोख्ने प्रयत्न गरिरहेका हुन्छन् ।

विद्यार्थीहरू परीक्षाको समयमा आफ्नो 'टेक्स्ट बुक' बाहेकका अन्य पुस्तक पढ्न पनि मन पराउँछन् । परीक्षा नजिकिँदै जाँदा कविता, कथा, उपन्यास तथा निबन्धका पुस्तकहरू पढ्न विद्यार्थीले विशेष रुचि  राखेको पाइन्छ । खासमा यस्ता पुस्तक कहिल्यै नपढ्ने, पढ्न मन नपराउनेले समेत परीक्षाको समयमा मन पराउने र पढ्ने गरेको देख्न सकिन्छ । परीक्षा 'बोझ' सरह लागिरहेको स्थितिमा यस्ता पुस्तक निकै  'इन्ट्रेस्टिङ' लाग्ने विद्यार्थीहरू बताउँछन् । जे-जसरी होस्, विद्यार्थीहरू अध्ययनको 'लोड' बाट केही रिलिफ लिने प्रयत्न गर्दै अन्य कुराप्रति आफ्नो मन डुलाइरहेका हुन्छन् ।

विद्यार्थीहरू परीक्षा नजिकिएको समयमा आफ्नो पढाइबाट केही टाढा जाने प्रयास गरिरहेका हुन्छन् । उल्लेखित कुराबाहेक विद्यार्थीहरू मन बहलाउने साधनका रूपमा टेलिभिजन, कम्प्युटर आदि पनि प्रयोग  गर्छन् । उनीहरू कुनै कुरामा योजना बनाएर नै लाग्छन् भने कुनैमा थाहा नपाइ पनि लागिरहेका हुन्छन् । विद्यार्थीहरू पढाइ बिग्रन्छ भनेर यस्ता कुराबाट सतर्क नै हुन्छन्, तर कहिलेकाहीं थाहा नपाएर लामो  समय 'किल' पनि हुन सक्छ । परीक्षाको समयमा मन अलिअलि चुलबुल हुनु स्वभाविक हो, यदि चुलबुले मनलाई आफ्नो नियन्त्रणमा राख्न सकियो भने आशातीत प्रगति गर्न सकिन्छ ।

उत्कृष्टता कसरी हासिल गर्ने ?

नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा अत्तालिनु पर्दैन । विषयगत पाठ्यक्रमको तालिका वनाएर अध्ययन गर्नु राम्रो हुने शिक्षकहरू बताउँछन् । आफूलाई अप्ठ्यारो लाग्ने विषयमा बढी मेहनत  गर्नुपर्ने भए पनि सजिलो लाग्ने विषयलाई बेवास्ता गर्नु हुँदैन । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले केही महिनापछि एसएलसी परीक्षा दिनेछन् ।

सेन्टअप परीक्षालाई एसएलसीको पूर्वअभ्यासका रूपमा लिने गरिएको छ । एसएलसी मात्र होइन, विद्यार्थीका लागि हरेक परीक्षा उत्तिकै महत्त्वपूर्ण र संवेदनशील हुन्छ । यद्यपि विद्यार्थीहरू एसएलसी परीक्षालाई  बढी नै गम्भीरतापूर्वक लिन्छन् । यसले उनीहरूमा एक किसिमको भय उत्पन्न गरिदिन्छ । एसएलसी परीक्षालाई 'फलामे ढोका'का रूपमा अथ्र्याउने गरिएकाले पनि विद्यार्थीहरू यो परीक्षादेखि बढी नै आतंकित  भएको पाइन्छ । विद्यार्थीले एसएलसीलाई पनि अन्य नियमित परीक्षाकै रूपमा हेर्नुपर्छ र सहज भएर परीक्षा दिनुपर्ने शिक्षकहरूको सुझाव छ । लिटल एन्जल्सका पि्रन्सिपल मुकुन्दराज शर्मा भन्छन्- 'हरेक  परीक्षा विद्यार्थीका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।' 

कतिपय विद्यार्थी जसरी भए पनि एसएलसीमा बढी अंक हासिल गर्ने सोच राख्छन् । परीक्षामा धेरै अंक हासिल गर्नु राम्रो हो, तर अध्ययनबिना हासिल गरेको अंकको कुनै अर्थ हुँदैन । कतिपय विद्यार्थीले  एसएलसीमा ८५ प्रतिशतसम्म अंक हासिल गरेर पनि उच्च शिक्षाका लागि प्रवेश परीक्षामा अनुत्तीर्ण भएको उदाहरण पाइन्छ । त्यसैले धेरै अंक हासिल गर्ने दौडमा लाग्नुभन्दा आफूले पढ्नुपर्ने विषय बुझेर  अध्ययन गर्नु उपयुक्त हुन्छ । पढ्नुपर्ने विषयलाई बुझेर मौलिक जवाफ दिन सक्नुपर्छ ।

पाठ घोकेको भरमा हुबहु जवाफ दिएर परीक्षा त उत्तीर्ण गर्न सकिन्छ, आफ्नो बौद्धिक क्षमताको विकास गर्न सकिँदैन । अतः बौद्धिक क्षमता नभए जतिसुकै अंक हासिल गरे पनि व्यावहारिक जीवनमा सधैं  फेल भइन्छ । शर्मा भन्छन्- 'विद्यार्थीले परीक्षामा हासिल गरेको अंकले उनको बौद्धिकता मापन गर्छ भन्ने छैन ।' त्यसैले उच्च अंक प्राप्त गर्ने उद्देश्यले मात्र होइन, पढेको पाठलाई ग्रहण गर्ने गरी अध्ययन  गर्नुपर्छ । यसरी अध्ययन गर्ने विद्यार्थीका लागि कुनै पनि परीक्षा 'फलामे ढोका' वन्दैन ।

कुनै पनि पाठ पढिसकेपछि कति ग्रहण गरियो भनेर आफैंले परीक्षण गर्न सकिन्छ । परीक्षा दिएकै शैलीमा आफैंले प्रश्नहरू बनाएर अध्ययन गरेको पाठको जवाफ दिने अभ्यास गर्नु निकै राम्रो हुने नोबल एके डेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ बताउँछन् । 'अध्ययनको यो प्रभावकारी शैली हो,' श्रेष्ठ भन्छन्- 'पढेको भन्दा लेखेको कुरा छिटै ग्रहण गर्न सकिन्छ ।' लेख्ने अभ्यासले परीक्षामा निकै सहयोग पुग्छ । यसैबेला छिट्टै  लेख्न र अक्षर सुधार्न सकिन्छ । एकचोटि ध्यान दिएर पाठ पढ्ने, पढेको पाठबाट आफैंले प्रश्न बनाउने र त्यसको जवाफ दिने अभ्यास गर्नु लाभदायक हुने शिक्षकहरूको सुझाव छ । कुन-कुन विषयलाई कति  समय दिने हो, सोहीअनुसार रुटिन बनाए पढ्न सजिलो हुन्छ । यसले विद्यार्थीमा समयको महत्व पनि बोध हुन्छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पि्र-टेस्ट अगाडिदेखि नै रुटिन बनाएर पढ्नुपर्ने शिक्षकहरू बताउँछन् । गणित, ऐच्छिक गणित, विज्ञान तथा अर्थशास्त्र विषयमा गर्नुपर्ने हिसाबको अभ्यास राति गर्न  सकिन्छ । सुत्नुअघिको समयमा खासै हतार नहुने भएकाले धेरै समय लाग्ने यस्ता विषयहरू अध्ययन गर्नुपर्छ । हिसात्र गर्दा मस्तिष्क सक्रिय हुने भएकाले अल्छी र निद्रा लाग्ने समस्या पनि हुँदैन । धेरैजसो  विद्यार्थी अप्ठ्यारा विषयमात्र अध्ययन गर्ने र सजिलो लाग्ने विषय नहेर्ने खालका हुन्छन् । यसरी सजिलो विषयलाई बेवास्ता गर्नु राम्रो नहुने शिक्षकहरू बताउँछन् । सजिलो लाग्ने विषय अध्ययनका लागि पनि  समय निकाल्नुपर्छ ।

अध्ययन गर्दा अनावश्यक तनाव लिनुहुँदैन । मानसिक तनाव झेलिरहेका बेला अध्ययन गरेको कुरा ग्रहण गर्न सकिँदैन । यसले समयको बर्बाद मात्र हुन्छ । शिक्षकहरूका अनुसार बाह्य तनावबाट मुक्त भएर  मस्तिष्कलाई खुला राखेर अध्ययन गर्न बस्नुपर्छ । पाठमा मात्र ध्यान केन्दि्रत गर्नुपर्छ । यसका लागि अध्ययन कोठा पनि अनुकूल हुनुपर्छ । होहल्ला एवं दुर्गन्धयुक्त कोठामा बस्दा पाठमा ध्यान लगाउन सकिँदै न । त्यसैले अध्ययनका लागि छुट्टै कोठा बनाउनु राम्रो हुन्छ । छुट्टै कोठा नहुनेहरूले पनि अध्ययन गर्ने कोठामा आफूलाई बाधा पुग्ने वस्तुहरू राख्न हुँदैन । 

दुई वा तीन जना विद्यार्थी बसेर छलफलको शैलीमा अध्ययन गर्ने विधिलाई पनि प्रभावकारी मानिन्छ । यसले एक-अर्कामा भएको ज्ञान आर्जन गर्न सकिन्छ । पाठ्यपुस्तक मात्र ज्ञानको स्रोत होइन, त्यसैले  पाठ्यपुस्तकमा मात्र सीमित भएर होइन, अन्य स्रोतबाट पनि सम्बन्धित विषयको अध्ययन गर्नुपर्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा विज्ञहरू ज्ञानका स्रोत हुन् । आफ्नै सहपाठीहरूको ज्ञान पनि आदान- प्रदान गर्न सकिन्छ । अध्ययन गर्ने विद्यार्थीले कुनै पनि कुरामा खुम्चिएर होइन, खुला रूपमा ज्ञान आर्जन गर्नु उपयुक्त हुन्छ । यसरी आर्जन गरिएको ज्ञानले एउटा परीक्षामात्र पार गराउँदैन व्यावहारिक जीवनमै  पनि सघाउ पुर्‍याउँछ ।

केही जानकारी


  • रुटिन बनाएर अध्ययन गर्ने ।
  • अप्ठ्यारा मात्र होइन, सजिला विषयलाई पनि महत्त्व दिने ।
  • लेख्दै अध्ययन गर्ने ।
  • अध्ययन गरेको कुरा कति ग्रहण गरियो, मनन गर्ने ।
  • आफैंले आफ्नो परीक्षा लिने ।
  • सम्बन्धित विषयमा केन्दि्रत रहेर साथीहरूसँग छलफल गर्ने ।
  • पाठ्यपुस्तक मात्र होइन, अन्य स्रोतबाट पनि ज्ञान आर्जन गर्ने ।

No comments:

Post a Comment